जंगली जनावरको कारण सिरहामा खाद्य संकटको सम्भावना

निलगाई ,बंगुर, बांदर, हात्ती र दुम्सीको आतंकले सिरहाको करिब १६ हजार हेक्टरको बालीमा क्षति पुर्याउंने गरेको छ । अर्थात लगभग सिरहाको २५ प्रतिशत जग्गाको बाली जंगली जनावरले वर्षेनी क्षति पुर्याउंने गरेको छ ।  सिरहा जिल्लामा खेती योग्य जग्गा ६५ हाजर ८ सय १० हेक्टर रहेको जिल्ला समन्वय समितिको तथ्याङ्मा उल्लेख छ । जसमध्ये ८० प्रतिशतमा पानी अर्थात सिंचाईको सेवा नरहेको अवस्था छ । सिंचाईको समस्याले तडपिदैं गरेका किसानहरुले जंगली जनावरले झन पिडा माथी पिडा थप्दै गएको छ । यस जिल्लाका दर्जनौं गाउँका किसानहरुले लगाएको बाली जंगली जनावरले नष्ट गर्न थालेपछि कृषि उत्पादनमा कमि हुन थालेको छ । तीन बर्षअघि दूई चार हजार हेक्टरको जग्गामा जंगली जनावरले क्षति पुर्याउने गरेको थियो भने आज करिब १६ हजार हेक्टरको बालीमा क्षति पुर्याइरहेको छ । यस्तै  अवस्था कायमै रहेमा आउँदा दिनमा यो क्रम बढ्दै जाने र  सिरहा जिल्ला लगायत प्रदेश नं. २ मा खाद्य संकटको अवस्था आउने निश्चित देखिन्छ । 

 

 खास गरी सिरहा जिल्लाको  कमला खोला छेउका गाउँ टोलमा रहेको खेतीबारी यसले नराम्रो प्रभावित बनेको छ । त्यसै गरी  लहान, धनगढीमाईको उत्तरी गाउं, गोलबजारको उत्तरी गाउं टोलका खेतीमा जंगली जनावरले क्षति पुर्याउंने गरेको छ । किसानहरुले त्यस क्षेत्रमा लगाएको तरकारी, नगदेवाली तथा धानवालीमा जंगली निलगाई र बंगुर पसेर तहसनहस गर्ने गरेको छ । जसले किसानहरुले लगानी गरेको खेतीमा आर्जन गर्न नसकेर सास्ती खेप्दै आएका छन् । यसको प्रभाव खाद्य,शिक्षा, स्वास्थ्य, रोजगारीमा प्रत्यक्ष असर परिरहेको छ ।

विगत ३ बर्षदेखि जँगली जनावर घोरगधा, बाँदर, सुंगरले किसानहरुको खेतबारीमा लगाएको अन्नबाली तथा खेतीपाती नष्ट गर्दै आएको गौरीशंकर मिश्रित कृषक समूह सिरहा न.पा. १३ को अध्यक्ष राजलाल महतो, कुशवाह मिश्रित कृषक समूहका अध्यक्ष गौरी शंकर महतोको कथन रहेको छ ।

सिरहाको फुलबरिया, मलहनिया गमहरिया, खरसलवा, मानपुर, पटेर्वा, खैरटोका, बसपिट्टा, लचकाटोल, इनर्वा, सारस्वर, चिकना भोक्राहा, कल्याणपुर, डोकहा, परचिलवा, कोरयाही, बन्दीपुरलगायतको गाउंमा जंगली जनावरले बाली नष्ट गरिरहेको छ । लहानक्षेत्रको ढोढना, मोहनपुर, हसनपुर, अमही, शोभापुर, भदैया, बसाजोरी, छर्रापट्टि नौडेगा, गाढा कडरिया, गोविन्दपुर, तरेगना गोविन्दपुरलगायतको गाउंमा निलगाई (घोरगधा), सुंगुर, बांदर, धुम्सी र हात्तीले बाली नष्ट गर्न थालेपछि किसानहरु मारमा परेका छन् । गाउं छेउमा रहेको नदी, वन, झांडी, खोल्साखोल्सी र फुलवारीमा बासस्थान बनाएर बस्ने गरेका निलगाई तथा जंगली जनावरहरु राती खेतमा लगाएको बाली खाईदिने गरेको छ । कृषि समूह महासंघ सिरहाका अध्यक्ष मुक्तिनारायण यादवले ‘यो समस्या दूई तीन बर्ष पहिले दुई चार गाउंमा थियो , अहिले दर्जनौ गाउंमा फैलिएको छ ।’ ‘निकट भविष्यमा सिरहाको अधिकांश गाउंमा यस्तो समस्या  आउंन सक्छ ।’ ‘यस्तो रहियो भने सिरहामा खाद्य संकट आउंन सक्छ ।’ यस्ता समस्यालाई यथाशिघ्र समयमै सरकारले नियन्त्रण गर्नुपर्ने हो ।

सिरहाको दर्जनौ गाउंमा करिब तीन बर्षदेखि बढीमा निलगाई (घोरगधा) ले बालीमा क्षति गरिरहेको छ भने कात्तिक, मंसिर, पौष, माघ, फागुन महिनामा हात्तीले केही गाउंमा क्षति पुरयाउंदै आएको छ । कमला र बलान खोलाको छेउछाउमा रहेको वन झाडीबाट आएर जंगली सुंगुरले खेतवालीमा दिउंसै उद्म (बाली भएको खेतलाई कोरकार गरेर) मच्चाउंने गरेको छ । ढोढना, मोहनपुर, तरेगना लगायतको गाउंमा बांदरले पनि बाली सखाप पार्ने गरेको छ । कहिलेकांही दुम्सीले समेत बाली नष्ट गर्ने गरेको छ । लहान २४ गोविन्दपुरका मनोज पासमान भन्छन् —‘पांच कठ्ठामा लगाएको आलु घोरगधाले नफल्दै बोट खाएदियो ।’ ‘पांच कठ्ठाबाट पांच किलो आलु घर ल्याउंन सकिएन ।’ राष्ट्रिय कृषक समूह महासंघ लहान न.पा. वडा नं. २४ का अध्यक्ष रामनारायण चौधरीले घोरगधा तथा जंगली जनावरको कारण दूई बर्षदेखि तरकारी खेती गर्न छाडेका छन् । चौधरीले भने ‘जनावरलाई छोयो जेल जानुपर्छ, त्यो भन्दा राम्रो लगानी खेर फाल्नु भन्दा खेती नै छाडे ।’ गोविन्दपुरमा बांस र तारको घेरा हालेर खेती गरिरहेको छ भने राती जाग्राम बसेर किसानहरु खेती गरिएपनि बेलाबखत हुलका हुल निलगाई तथा जंगली जनावरले बाली नष्ट पार्दै आएको छ । त्यहां सिहुला डिह बनमा सयौ संख्यामा निलगाई तथा जंगली जनावर रहेको छ ।

 

                सिरहा जिल्ला लगायत प्रदेश नं. २ मा निलगाईको ‘आतंक’ बढेपछि स्थानीय किसान चिन्तमा छन् । स्थानीयले हैरानी ब्यहोरेपनि संरक्षित जनावरको व्यवस्थापनमा सरकारी निकायले पर्याप्त ध्यान भने दिएको छैन । निलगाईको ‘आतंक’ बढेपछि यहांका किसानहरु खेती गर्न नै निरुत्साहित भएका छन् । लहान १५ का वडाध्यक्ष तेजनारायण चौधरीले ‘जंगली जनावरले वांसको कोपर नै खाइदिन्छ ,वालीनाली त सखाप नै पार्छ ।’ ‘यसलाई नियन्त्रण गर्न वन कार्यालय पटक पटक जानकारी गराएको छु ।’ ‘खाद्य संकट नहुन दिन निलगाई तथा जनावरलाई यहांबाट अन्यक्षेत्रमा सारेर व्यवस्थापन गर्नुपर्छ ।’ ‘यसको लागि वडा कार्यालयबाट हुने सहयोग गर्न तयार छु ।’लहान १७ की भगनी मोचीले जाडोमा सानो फुसको घर बनाएर यसमा घण्टी बाधेर दिनरात रुगे । तर, टिप्ने बेला भएपछि निलगाईले सबै सखाप बनाई दियो । समय, परिश्रम र आर्थिक लगानी ‘बालुवामा पानी’ झै भयो । ‘ल्याएको वाली पनि घरबारीमा आएर राती निलगाईले तहसनहस पार्छन् ।’ यस्तै पीडा छन् त्यहांका सितादेवी चौधरी, फुलोदेवी चौधरी, शान्ति गुप्ता, रेणु चौधरी, विमला राम, चमेली सदाय, उर्मिला चौधरीजस्ता कैयौ किसानहरुको । त्यहां गोविन्द मुरारी वनबाट जंगली जनावर आउंने गरेको कृषि अभियन्ता शिवकुमार राम बताउंछन् ।

 

                जंगली जनावरले कृषि क्षेत्रमा व्यापकरुपमा क्षती पुरयाउन थाले पछि राष्ट्रिय कृषक समूह महासंघ नेपालले किसानहरुको यस सवाललाई अगुवाई गर्दै अगाडी बढेको छ । स्थानीय तह, जिल्ला र प्रदेश सरकार सम्म यस समस्यालाई समाधान गर्नको लाग वहस पैरवी संचालन गर्दै आएको छ ।    सरकारी तहबाटै जंगली जनावर तथा निलगाई लाई अन्यत्र सारेर प्रभावकारी बनाउन सकिन्छ । साथै प्रदेश सरकारले यो समस्याको दिर्घकालीन र अल्पकालीन रुपमा समाधान गर्ने योजना बनाई लागु गर्नु पर्छ, यसको लागी जिल्ला वन कार्यालय सिरहाको तर्फबाट प्रदेश स्तरमा आवाज उठाएको र जनप्रतिनिधिहरुले  समेत यसको प्रभावकारी नीति वनाई यी जनावरहरुलाई व्यवस्थापन गर्नु पर्ने कुरा सिरहाका जिल्ला वन अधिकृत सुनिल कुमार सिंहले वताउनु हुन्छ । त्यसै गरी जंगली जनावरले कृषि वालीमा पुरयाएको क्षतीको विषय गम्भिर बन्दै गएको छ यसलाई सम्बोधन गर्नको लागी दस्तावेज सहित प्रदेश सरकारमा पठाउने र जिल्ला स्तरमा पनि स्थानीय तहका प्रतिनिधिहरुसंग छलफल गरी यो समस्या समाधान गर्ने कुरा सिरहाका प्रमूख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताउनु हुन्छ ।