स्थानीय सरकारको कृषि ऐनको मस्यौदा हस्तान्तरण

राष्ट्रिय कृषक समूह महासंघ नेपालले एउटा कार्यक्रम गरी बढैयाताल गाउँपालिकाकालाई स्थानीय सरकारको कृषि ऐनको मस्यौदा हस्तान्तरण गरेको छ । राष्ट्रिय कृषक समूह महासंघका तर्फबाट महासंघका लुम्बिनी प्रदेश कार्यसमिति अध्यक्ष सर्वजित विष्टले पत्रकारहरुको उपस्थितिमा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष श्री दीपा कुमारी गौतमलाई ऐनको मस्यौदा हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा महासंघका तर्फबाट केन्द्रीय सदस्य खेमराज घिमिरे, लुम्बिनी प्रदेश अध्यक्ष सर्वजित विष्ट, प्रदेश सचिवालय सदस्य कुमार शाही लगायत महासंघद्वारा सञ्चालित परियोजनाका कर्मचारीहरू, र गाउँपालिकाको तर्फबाट उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्दै महासंघका प्रदेश अध्यक्ष विष्टले विभिन्न चरणमा कृषि र स्थानीय पालिकासँग सम्बन्ध राख्ने विभिन्न सरोकारवालहरूसँगको छलफलबाट कृषि ऐनको यो मस्यौदा तयार पारिएको र यसलाई अहिले चलिरहेको गाउँ परिषदमा पेस गरी कार्यान्वयनका लागि अघि बढाइने विश्वास रहेको कुरा बताउनुभयो ।यसै गरी पालिकाका तर्फबाट बोल्दै उपाध्यक्ष गौतमले ढिलो नगरी प्रस्तुत मस्यौदालाई गाउँ परिषदबाट पास गरी ऐन निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

कृषि क्षेत्र नेपालको संविधान २०७२ ले स्थानीय तहलाई प्रदान गरेको एकल अधिकारको क्षेत्र हो । स्थानीय तहमा कृषकका आवश्यकता र समस्याहरूलाई नीतिगत तहमा सम्बोधन गर्न स्थानीय तहको कृषि ऐन अपरिहार्य देखिन्छ तर दुर्भाग्य अधिकांश स्थानीय तहले आफ्नो कृषि ऐन तर्जुमा गर्न सकेका छैनन् । कृषकहरूको हक अधिकारकारको लागि नीतिगत तहमा निरन्तर पैरवी गरिरहेको संस्थाको नाताले राष्ट्रिय कृषक समूहले कृषि ऐन तर्जुमाको लागि पहलकदमी लिएको बताउनुहुन्छ महासंघका केन्द्रीय सदस्य खेमराज घिमिरे । राष्ट्रिय कृषक समूह महासंघले लिबर्ड, केएर नेपाल लगायत विभिन्न संघसंस्थासँग सहकार्यमा देशै भरी ऐन निमार्णको प्रक्रियामा स्थानीय पालिकाहरूलाई सघाइराखेको छ । कृषक, कृषकसँग सरोकार राख्ने स्थानीय निकाय र जनप्रतिनिधिहरूसँगको चरणबद्ध छलफलबाट तयार पारिएको कृषि ऐनको मस्यौदाले किसान पहिचान, वर्गीकरण, संरक्षण र सशक्तीकरण सम्बन्धी व्यवस्था, कृषि भूमि उपयोग सम्बन्धी व्यवस्था, कृषि बिमा, अनुदान र सहुलियत कर्जा , सामाजिक सुरक्षा, पोषण बगैँचा, कृषि उद्यमको व्यवस्थापन, उत्पादनको समर्थन मुल्य जस्ता महत्वपूर्ण विषयहरुलाई समेटेको छ ।